‘सुखदुःखका साथी हौँ, सधैँ नेपालसँगै उभिन्छौँ’ : राजनाथ सिंह

‘सुखदुःखका साथी हौँ, सधैँ नेपालसँगै उभिन्छौँ’ : राजनाथ सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीस्थित नेपाली राजदूतावास पुगेर भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति भारत सरकार तथा भारतीय जनताका तर्फबाट गहिरो दुःख व्यक्त गरेका हुन्।

भदौ १० गते आएको भीषण बाढीबाट नेपाली नागरिकसँगै भारतीयलगायत विभिन्न देशका नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै उनले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत सिंहले विपत्तिको यस घडीमा भारत नेपालसँगै रहेको बताएका छन्।

‘यो दुःखद प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीय नागरिकसहित धेरै विदेशी नागरिकलाई प्रभावित पारेको छ। यस विपत्तिमा ज्यान गुमाउनेहरुका परिवारप्रति हाम्रो संवेदना र प्रार्थना छ। हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस कठिन घडीमा पनि हामी हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौं र नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासहरूमा सहयोग गर्न पूर्ण रूपले प्रतिबद्ध छौं।’