राजसंस्थाको पक्षमा जनता छैनन् !

राजसंस्थाको पक्षमा जनता छैनन् !


काठमाण्डु- हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरू पछिल्लो समय सक्रिय भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको लागि पहल गरिरहेका छन् ।

कमल थापाले हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरूबीच बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरिसकेका छन् । त्यस्तै दुर्गा प्रसाईँ भने मंसिर ७ गतेदेखि कागमाण्डुका विभिन्न ठाउहरुमा प्रर्दशन गरिरहेका छन् ।

यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने अबको केही समयमा राजा आउने दावी गर्दै आइरहेका छन् । राप्रपाको प्रमुख सहयोगमा भएको झापाको कार्यक्रममा शनिवार पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका थिए । बिर्तामोडको उक्त कार्यक्रममा पूर्वराजासँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित भएका थिए भने राप्रपाका अन्य केन्द्रीय नेताका साथै हजारौँ राजावादीहरूको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा सहभागि भएका राजेन्द्र लिङ्देनले अबको केही समयमा राजा आउने दावी गरे । देशमा अहिले व्याप्त बेथितिलगायत समस्याको सम्बोधन विद्यमान व्यवस्थाबाट हुन नसक्ने देखेर आफूहरूले सङ्घीयता खारेजी तथा सनातन हिन्दूराष्ट्र एवं राजसंस्थाको पुनर्स्थापना चाहेको राजावादीहरुले दावी गरेका छन् ।

तर, हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरू भने एक जुट भएका छैनन् । राजा ल्याउने ठोकुवा गरिरहेका दुर्गा प्रसाईँलाई समेत पूर्वराजा शाह र राप्रपाले साथ दिएन ।  दुर्गा प्रसाईंले व्यवस्था बदल्ने भन्दापनि अन्य स्वार्थमा गाउँगाउँबाट सर्वसाधारण उतारेको राप्रपाको बुझाइ छ । राप्रपाबाट अलग्गिएर राप्रपा नेपाल गठन गरेका कमल थापालाई पनि राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरूको साथ छैन ।

त्यस्तै आफ्ना माग अनुसार हालका प्रमुख दलहरुले काम गर्न नसकेपछि जनताहरु निराश भएपनि पूनः राजा ल्याउने पक्षमा भने जनता छैनन् । बिहीबार काठमाण्डुको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि राजा ल्याउने ठोकुवा गरिरहेका प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नपाएपछि आन्दोलन नै तितरबितर भएको छ । पसाईँ नेतृत्वको आन्दोलनमा पहिलो दिन हजारौँ जनता सडकमा आए पनि त्यसपछि दुइ चार जनामात्र सडकमा आउनुबाटै बुझ्न सकिन्छ की राजसंस्थाको पक्षमा जनता छैनन् ।

सामाजिक सञ्जालमार्फत जनताहरुले हालको व्यवस्था ठिक भएको तर,राजनीतिक दलहरुले आफू सत्तामा टिक्नको लागि मात्र काम गरिरहेको गुनासो गर्दै आएका छन् । उसो त राजनीतिक दलहरुले जनताको अपेक्षा अनुसार काम गरेको भए आज केही राजावादी शक्तीहरु सडकमा आउदैँमा झस्किनुपर्ने अवस्था आउने थिएन ।

दुई सय ५० वर्ष लामो जहानियाँ राजतन्त्र, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था र विगतको हिंसात्मक द्वन्द्व र अस्थिरताका कारण आम जनताले भोग्नुपरेका समस्या कहिल्यै भुल्न सकिदैन । त्यसकारण प्रमुख राजनीतिक पार्टीहरूले आन्तरिक सुधार गर्ने र कार्यशैली बदल्ने हो भने नेपाली जनमत यो प्रणालीको विपक्षमा छैन। प्रणालीका कमीकमजोरीमा असन्तोष होलान्, तर प्रणालीकै विरुद्ध होइन भन्ने प्रष्ट नै छ ।

राजावादीहरु सक्रिय हुँदा हामीहरु अत्तालिएका छैनौँः प्रमुख राजनीतिक दल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने गणतन्त्रको विरोध गर्नुको अर्थ नभएका बताएका हुन् ।

‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’, उनले भनेका थए । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई चार जना सडकमा उत्रिदैँमा राजसंस्था नर्फकीने दावी गर्दै आएका छन् । ‘दुई चार जना सडकमा आएर ढुंगा हान्दैँमा राजा आउदैँन । त्यो सम्भव पनि छैन । दुई चार जनाले ढुंगामुडा गर्दैमा केही फरक पर्नेवाला छैन ।’, केही दिन अगाडि काठमाण्डुमा आयोजित कार्यक्रममा ओलीले भनेका थिए ।

त्यस्तै सोमवार नेकपा माओवादी केन्द्रको वेबसाइट उद्‌घाट गर्ने गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मुलुकलाई निरङ्कुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको’ टिप्पणी गरेका थिए।