माकलबारी सडक विस्तार विवादबारे सांसद पाण्डेको स्पष्टीकरण-सेनाकै सहयोगमा काम सम्पन्न भयो

माकलबारी सडक विस्तार विवादबारे सांसद पाण्डेको स्पष्टीकरण-सेनाकै सहयोगमा काम सम्पन्न भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु-३ का प्रतिनिधिसभा सदस्य राजु नाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशेसम्मको सडक विस्तारका क्रममा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने विषयलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइएका भ्रमपूर्ण प्रचारप्रति ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले उक्त सडक विस्तारका क्रममा प्रारम्भिक रूपमा सम्बन्धित नेपाली सेनाको टुकुडीसम्म आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा सामान्य असहज अवस्था सिर्जना भएको स्पष्ट पारेका हुन् ।

त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलफल भएपछि नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार उक्त कार्य काठमाण्डु उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो।

सांसद पाण्डेले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको संस्था भएको उल्लेख गर्दै सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण र नागरिक सर्वोच्चताप्रति आफूले उच्च सम्मान व्यक्त गरेका छन्।

साथै उनले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने तथा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन्।

राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।