बीचबाटोमा अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

बीचबाटोमा अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

फाइल तस्बिर

काठमाण्डु – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बीच बाटोमै अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।

बाढी तथा पहिरोको मंगलबार गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि समितिले राजमार्गहरूमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले भने ।।