रक्षामन्त्री पोखरेल र भगतसिंह कोसियारीबीच भेटवार्ता


काठमाडौं – उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेल र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोसियारीबीच भेटवार्ता भएको छ ।

नेपाल–भारतवीच १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीले आफ्नो कार्य (साझा प्रतिवेदन) तयार पारे लगत्तै कोशियारीले रक्षामन्त्री पोखरेलसँग भेटघाट गरेका हुन् ।

पोखरेलको निजी निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशबीचको सम्वन्ध, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगायतका विषयमा छलफल भएको थियो ।कोसियारीले आगामी दिनमा दुई देशका बीचमा समस्या नआउने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी समेत गराएका थिए ।

नेपालसँगको सीमा जोडिएको भारतको उत्तराखण्डका मुख्यमन्त्रीसमेत भैसकेका कोसियारी भारतीय जनता पार्टीका वरिष्ठ नेता मध्येका एक हुन । साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिए ।

उनले दुई देशबीच आइपर्ने कतिपय व्यवहारिक समस्या पनि समझदारिका साथ छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।साझा प्रतिवेदन तयार भएपनि केही दिनभित्रै औपचारिक ढंगले दुई देशका सरकार प्रमुखलाई बुझाउने तयारी समितिको छ ।उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पोखरेललाई भेटेपछि कोसियारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement