राखेपको सदस्य सचिवका लागि तीन जनाको भीडन्त, कसले मार्ला बाजी ?


काठमाण्डु – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले मङ्गलबार अञ्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापाको नाम सिफारिस गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । समितिले सिफारिस गरेकामध्ये अञ्जु श्रेष्ठ पूर्वभलिबल खेलाडी, लिलबहादुर थापा  नेकपा केन्द्रीय सदस्य हुन् ।

रमेश सिलवाल भने राखेपकै पूर्वसदस्य सचिव हुन । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए । सिलवाल ओली निकट मानिन्छन् भने थापामगर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट छन् ।

पूर्व कप्तान श्रेष्ठ भने भलिबलमा कास्य पदक बिजेला खेलाडी हुन् । सदस्य सचिवका लागि तीनै जना आ–आफ्नो शक्ति केन्द्र धाइरहेको स्रोतले जानकारी दियो ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्यसचिव पदका लागि आह्वान गरेकोमा २७ जनाले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement