सिमा अतिक्रमणबारे सरकारले विरोध गरिरहेको छः गृहमन्त्री बादल


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले नेपालीे सीमा अतिक्रमणसम्बन्धी विवादको समाधान कुटनीतिक तहबाट खोजिनुपर्ने बताएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री बादलले ६ दशक अघिदेखि नै झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको भन्दै अहिले मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको जानकारी दिए ।

उनले भने, ‘पहिले पनि हामीले यस विषयलाई उठाउँदै आएको हो । सरकारले विरोध गरिरहेको छ । यसलाई कुटनीतिक रुपमा समधान खोजिनुपर्छ । छिटो भन्दा छिटो कुटनीतिक सम्वादबाट हल गर्नुपर्छ ।’

‘भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल फेरि तरंगित भएको छ । यस विरुद्ध विभिन्न ठाउँमा आवाज उठाएर आन्दोलन पनि भयो, यो समस्या उत्पन्न भएको छ त्यो समस्या नयाँ होइन । भूभाग मुक्त गर्न र भारतीय सेना फर्काउनका निम्ति नेपाली जनता र नेपाल सरकारले आवाज उठाउँदै आएका छन्’, उनले भने ।

सीमा सुरक्षाको निम्ति सो क्षेत्रमा नेपाली सुरक्षा निकायलाई तैनाथ गर्ने र अहिले छाङरुमा बीओपी राख्ने तय भएको पनि मन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement