काठमाण्डु- ‘तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध) ले आफूले कुनै पनि अपराध नगरेको बताएका छन्। प्रहरीसँग दिएको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन्।
मंगलबार राति काठमाण्डुको हात्तीगौंडास्थित घरैबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई बेपत्ता बनाएको र महिला अनुयायीहरूलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका बम्जनले भने आफू जंगलभित्र ध्यान र तपस्या गरिरहेको दावी गरेका छन् ।
‘यो सबै मलाई फसाउनका लागि, माइनस गर्नका लागि गरिएको डिजाइन हो। यसमा मान्छेहरू प्रयोग गरेर मलाई माइनस गर्न खोजिएको हो । मैले यी कुनै पनि अपराध गरेको छैन। मान्छे बेपत्ता बनाएको छैन। बलात्कार जस्ता कुनै पनि अपराध गरेको छैन। म त साधना, ध्यान गर्छु। लेख्ने काम मात्रै गर्छु । यतिन्जेलसम्म म ध्यानमै थिएँ। कहीँ भागेको पनि छैन। आश्रममै लेख्ने र साधना गर्ने काममा लागिरहेँ।’, उनले सीआईबीका अधिकारीसँगको बयानमा भने ।
बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ । वारेन्ट भएको झण्डै ४ वर्षपछि उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया