तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह


काठमाडाैँ – गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले देशमा अशान्ति कायम गर्ने अपराधी र अर्थतन्त्रलाई तहसनहस पार्ने तस्करविरुद्ध मन्त्रालयले कडा नीति अख्तियार गर्न शुरु गरेको भन्दै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह गरे ।

“त्यस्ता अपराधी र तस्करविरुद्ध तपाईंहरुले सञ्चार माध्यमबाट समेत सूचना दिनुहोस, मन्त्रालयले प्रशासनिक ढंगबाट तिनीहरुविरुद्ध कारबाही गर्छ ।” उनले भने । सुरक्षा निकायदेखि उद्योगी, व्यवसायी, प्रशासन हरेक क्षेत्रमा केही गलत गतिविधिमा संलग्न केही व्यक्तिका कारण ती निकाय नै बदनाम भएको भन्दै त्यस्ता व्यक्तिको पहिचानमा मन्त्रालय लागेको बताए ।

तस्करका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्न भन्सार छली गर्ने र हुण्डीको कारोबार गर्ने विरुद्ध निर्ममतापूर्वक मन्त्रालयले अभियान चलाउने गृहमन्त्री थापाको भनाइ छ । उनले भने, “एउटा कम्पनीले ४७ अर्ब सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन, केही कम्पनीले कर नतिरी मिनाहाका लागि नेताको घर चहार्दैछन् । त्यो पैसाले जलविद्युत्मा लगानी गरेको भए सयौँ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो ।”

उनले सुरक्षा संयन्त्रको संंरचनामा व्यापक परिवर्तन आवश्यक रहेको भन्दै त्यसका लागि काम शुरु गरिने जानकारी दिए । गृहमन्त्रीका रुपमा जनताले राहत महशुस गर्ने गरी आफूले काम गर्नेउनको भनाई रहेको छ । प्रहरीको आवासगृहदेखि वृत्ति विकाससम्मका कामलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने उनले बताए ।

उनले केही समूहले जातीयता, केहीले जनसत्ताको नाममा तथा केहीले धर्म र राजतन्त्रको नाममा अस्थिरता निम्त्याउन खोजेको भन्दै त्यस्ता गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरे । त्यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार राजनीतिक र प्रशासनिक दुवै कदम सरकारले चाल्ने उनको भनाइ छ ।

गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएकाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रधानमन्त्री कार्यालयका साथै गृह मन्त्रालय मातहत पनि जासुसी संगठनको आवश्यकता रहेको बताए । मुलुकको शान्ति, सुशासन, स्थिरता र विकासका लागि पत्रकारसँग हातेमालो गरेर जान मन्त्रालय तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रहसमेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement