इराकमा रहेका नेपालीको सुरक्षामा विशेष ध्यान दिन गृहमन्त्रीको आग्रह


काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदुत डा.फलाह अब्लुल्हसन अब्दुलसदाले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा नेपाल–इराक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले राजदुत डा. अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरे । उनले इराकमा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदुत डा. अब्दुलसदासँग आग्रह गरे ।

नेपालले भ्रमण वर्ष २०२० मनाउन गईरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाईदिन राजदुतसँग गृहमन्त्री थापाले आग्रह गरे । राजदुत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गरे ।

एनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वाँस व्यक्त गरे । एनले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठुलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताए ।

जवाफमा गृहमन्त्री थापाले इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफुले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement