प्रधानमन्त्रीले के गर्छन् अब हेर्ने बेला आयोः रामचन्द्र पौडेल


काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भारतले कालापानीमा सीमा मिचेर बनाएको नक्सा सच्याउन ‘प्रधानमन्त्रीले के गर्छन् अब व्यवहारमै हेर्ने बेला आएको’ बताएका छन् ।

‘कालापानीमा सीमा मिचिएको छ । अब प्रधानमन्त्रीले त्यो सच्याउन कति गर्नुहुन्छ, हेर्नुछ,’ नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री पौडेलले मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताए ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मकवानपुरको हेटौडामा आयोजित कार्यक्रममा सहभागी पार्टी प्रतिनिधिहरुबीच सो कुरा बताएका हुन् ।

‘राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेपाली कांग्रेस सरकारलाई सहयोग गर्न तयार छ । हामी सहयोग गर्छौं,’ उनले भने, ‘तर राज्यले कुटनीतिक सामर्थ्य र क्षमता देखाउन सक्नुपर्यो ।’

उनले प्रधानन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको र अहिले सरकारमा हुँदा के गर्छन् हेर्ने बेला आएको बताए ।

उनले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानि छानि दुःख दिने काम गरिरहेको दाबी पनि गरे । ‘अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दुःख दिने, पाखा लगाउने काम गरेको छ, दुईतिहाई सत्ताको घोर दुरुपयोग गरेको छ,’ उनले भने ।

पौडेल र अर्का नेता विमलेन्द्र नीधिले सो प्रशिक्षण कार्यक्रममा कम्युनिष्टहरुको वैचारिक रुपमै सशक्त ढंगले प्रतिवाद गर्न पार्टी सदस्यहरूलाइ आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement