काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् ।
बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरूलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताए ।
उनले भने, ‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं तर लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषय हो । दुर्घटना न्यूनीकरण कसरी गर्ने हो ? दिनमा ७ जनाको मृत्यु हुन्छ । दैनिक ४ जना घाइते हुनुभएको छ । यसका पछाडि केही न केही कमजोरी भएको छ ।’
यातायात व्यवसायीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद्, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु । आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ,’ उनले भने ।
छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाडपर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा २ जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । १ महिना पहिला चाडपर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’ उनले भने ।
सरकार र निजी क्षेत्रका मान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ । ‘आजको २० दिनपछि चाडपर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनुहोस् । १ दिनमा कति बस काठमाण्डु बाहिर पठाउन सकिन्छ ? कसरी व्यवस्थित गर्न सकिन्छ ? चाडपर्वभर यो कुरा गर्न जरुरी छ,’ उनले भने ।
गृहमन्त्री लेखकले यसपालिको दशैंलाई दुर्घटनारहित बनाउन पनि निर्देशन दिए । ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस् । यसपालिको दशैंलाई दुर्घटनारहित बनाऔं,’ उनले भने ।
छलफलमा सुरक्षा निकायका प्रमुख, सडक विभागका महानिर्देशक, सडक सुरक्षा परिषद्का अध्यक्ष, राष्ट्रिय यातायाता व्यवसायी महासंघ लगायतका प्रतिनिधिहरूले सडक दुर्घटना न्यनीकरण र चाडपर्व लक्षित सेवा प्रवाहबारे राय–सुझाव राखेका थिए ।
प्रतिक्रिया