काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् ।
नेपाल शिक्षक संघको २४औं संघीय कार्यसमिति बैठकको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरे ।
‘असारको १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छौं । यो तिथिमितिमा सरकारले प्रतिबद्धता गरेको हो । असार १५ गते नै प्रतिनिधि सभाबाट पारित हुन सक्ने अवस्था बन्छ,’ उनले भने ।
केही विपक्षी दलका मानिसहरूले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेको भन्दै गृहमन्त्री लेखकले रोष प्रकट गरे ।
‘संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नुभएको छ,’ उनले भने, ‘यो सबैका बीचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेको छ । त्यसलाई सरकारसँग जोडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद् अवरुद्ध गरिएको छ । यो अवरोध चाँडै हट्नुपर्छ ।’
संसद् अवरोध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाएका छन् ।
प्रतिक्रिया