काठमाण्डु – गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र नभई सबै लाग्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रूपमै फैलिएको बताए ।
‘यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको छ । यसलाई साझा दुष्मनका रूपमा लिएर लाग्नुपर्छ । मानव बेचबिखन विरुद्धको लडाइँ निर्मम हुनुपर्छ,’ उनले भने ।
बेचबिखनविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने उनले बताए । ‘सरकारले मानव बेचबिखनविरुद्ध पूरा साथ दिन्छ,’ उनले भने, ‘नागरिकमा जनचेतना फैलाउनु आवश्यक छ । यसमा विद्यार्थी र शिक्षकले काम गरिदिनुपर्यो । प्रहरी घरघरमा पुग्न सक्दैन ।’
मानव बेचबिखनविरुद्ध पालिकाले पनि काम गरिदिनुपर्ने उनले बताए । ‘मानव बेचबिखन अपराधको अनुसन्धानका लागि ३ महिनाको समय तोक्न कानून संशोधन गर्नुपर्छ । अनुसन्धानका लागि २५ दिनको समय पर्याप्त हुँदैन,’ उनले भने, ‘मानव बेचबिखन अपराधको अनुसन्धानको समय ३ महिना बनाउन गृह मन्त्रालयले कानून संशोधनका लागि पहल गर्नेछ ।’
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखनको अपराध नेपालका लागि चुनौतीको विषय बनेको बताए । उनका अनुसार भिजिट भिसाको नाममा मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले कारबाही अगाडि बढाएको छ ।
‘७५३ पालिकाबाट मानव बेचबिखन विरुद्धको अभियानमा सहयोग आवश्यक रहेको छ । मानव तस्करी गर्नका लागि दलाल गाउँगाउँमा पुगेको जानकारी आउने गरेको छ,’ उनले भने, ‘यसको सूचना दिएर मानव बेचबिखन ब्युरोलाई गरिदिन अनुरोध छ । मानव बेचबिखनको अपराधमा संलग्नलाई कडा कारबाही गरी पीडितलाई न्यायको अनुभूति दिलाउन निर्देश गर्दछु । हामी ३६५ दिन नै मानव बेचबिखनविरुद्धको अभियानमा लाग्नुपर्छ ।’
प्रतिक्रिया