कांग्रेस–एमाले मिलेर सरकार बनाउँदा समस्या समाधान गर्न सहज भइरहेको छ : गृहमन्त्री

कांग्रेस–एमाले मिलेर सरकार बनाउँदा समस्या समाधान गर्न सहज भइरहेको छ : गृहमन्त्री


जनकपुर – गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज भइरहेको बताएका छन् । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले यसले नेपाली जनतामा सरकारप्रति विश्वासको वातावरणको सिर्जना भएको बताए ।

दुई ठूला दलको समीकरणबाट निर्माण भएको सरकारले मुलुकको आत्मविश्वास मात्रै नभइ जटिल समस्या समाधान गर्न समेत सघाएको दाबी गरे । १८ वर्षदेखि निष्कर्षमा पुग्न नसकेको संक्रमणकालिन न्याय सम्बन्धि विषय दुई ठूला दल कांग्रेस र एमाले एकठाउँमा उभिदा निष्कर्षमा गुगेको गृहमन्त्री लेखकले बताए ।

वर्तमान सरकारले जटिल समस्या समाधान मात्रै नगरी मुलुकमा राजनीतिक स्थायित्वसमेत प्रदान गरेको उनको भनाइ थियो । गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा व्याप्त समस्या समाधान गर्ने अभिप्रायले यो समिकरणको निर्माण गरिएको बताए ।

‘केही दिनमै समिकरण बन्ने र भत्किने हुँदा देशले राजनीतिक रुपमा स्थायित्व पाएन, यसले प्रत्यक्ष सेवा प्रवाहलाई समेत प्रभावित गरेको थियो,’ लेखकले भने, ‘अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प छ, यो समीकरण निश्कर्षमा नपुगेसम्म यसको विकल्प खोज्नु उचित हुने छैन ।’