पाटन – गृहमन्त्री रमेश लेखकले हालैको विपद्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताएका छन् ।
मंगलबार ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोहीअनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताए । ‘पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? कसैले नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो,’ उनले भने, ‘सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनर्निर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।’
यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्ुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । ‘कुनै राजनीति, पक्ष–विपक्ष नभनी तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्था लगायत सबै मिलेर हामीले विपद्पछिको समस्या समाधान गर्न लाग्नुपर्छ । त्यसमा सरकारले सहजीकरण गरिरहेको छ,’ उनले भने ।
गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे । ‘लाभग्राहीको विवरण आएको ३ दिनभित्र तत्काल राहतका लागि १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरूप २५ हजार पठाउँछौं,’ उनले भने ।
रक्षामन्त्री मानवीर राईले विपद्बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
स्थलगत निरीक्षणका क्रममा ललितपुर क्षेत्र नम्बर १ का संघीय सांसद उदयशम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसी, उपाध्यक्ष डोल्मामायाँ गोले लगायतले प्रभावित क्षेत्र, क्षति विवरण, पुनर्निर्माण र पुनःस्थापनाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
स्थलगत निरीक्षणका क्रममा मंगलबार सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको बाढीपहिरो प्रभावित ग्रामीण क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले अनुगमन गरेको छ ।
यसअघि गृहमन्त्री लेखकले आईतबार र सोमबार काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी विपद् प्रभावित क्षेत्रको अनुगमन गरेका थिए ।
प्रतिक्रिया