अध्यागमन सुधारका लागि काम गर्न गृहमन्त्री लेखकको निर्देशन

अध्यागमन सुधारका लागि काम गर्न गृहमन्त्री लेखकको निर्देशन


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल कामकारबाही गर्न निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिए ।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावनी दिए ।

‘गलत तरिकाबाट मान्छे गएको थाहा पाए, त्यो बेला कार्यरत कर्मचारी कारबाहीको भागिदार हुनेछ,’ मन्त्री लेखकको भनाइ उदृत गर्दै प्रवक्ता तिवारीले भने, ‘शून्य सहनशीलताको नीति अवलम्बन गर्न आग्रह गर्नुभएको छ ।’

मन्त्री लेखकले अध्यागमन सुधारका लागि विगतको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न जोड समेत दिए । ‘कर्मचारी आचरण सुधार हुनुपर्‍यो,’ उनले भने, ‘अध्यागमनको कागजात, तथ्यांकदेखि हरेक कुराको रेकर्डका लागि डिजिटल प्रणाली स्तरोन्नति गर्न आग्रह गर्छु ।’

बैठकमा अध्यागमनको सुधारका लागि १ महिनायता भएको प्रयास र पहलकदमीका विषयमा मन्त्री लेखकले जानकारी लिएका थिए ।

‘१ महिनामा सुधारका के–के काम अघि बढे त्यो विषयमा पनि जानकारी मन्त्रीज्यूले लिनुभयो,’ प्रवक्ता तिवारीले भने, ‘अध्यागमनको छविदेखि संरचनागत सुधारमा जोड दिनुभयो ।’

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालय अन्तर्गत विभिन्न विभागीय प्रमुख, महाशाखा प्रमुख लगायतका उच्च पदस्थ कर्मचारी सहभागी थिए ।