आन्तरिक १ लाख रोजगार सिर्जना गर्ने गरी कार्यसम्पादन गर्न मन्त्री यादवको निर्देशन

आन्तरिक १ लाख रोजगार सिर्जना गर्ने गरी कार्यसम्पादन गर्न मन्त्री यादवको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी आर्थिक वर्षभित्र १ लाख रोजगार सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालय अन्तर्गतका सबै निकायलाई सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित गत आव २०८२/८३ को मन्त्रालय र यसअन्तर्गतका निकायबाट सम्पादन भएका कार्यहरूको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा मन्त्री यादवले आन्तरिक रोजगार सिर्जना गर्न अन्तरमन्त्रालय समन्वयमा जोड दिनुपर्ने धारणा राखे ।

मन्त्रालयले १ वर्षभित्रमा १ लाख युवालाई रोजगार सिर्जना गर्ने लक्ष्य रहेको जनाउँदै यसअन्तर्गत हालसम्म २३ हजारले रोजगारी प्राप्त गरिसकेका मन्त्री यादवले बताए । आन्तरिक रोजगार महाशाखालाई निर्देशन दिँदै उनले भने, ‘आन्तिरिक रोजगार वृद्धि गर्नु सरकारको पहिलो प्राथमिकता हो । यसलाई महत्वपूर्ण ठानेर काम गरौँ ।’ उनले रोजगार नीति र रोजगार ऐन समेत यथाशीघ्र बनाउन निर्देशन दिए ।

मन्त्री यादवले ७५३ वटै पालिकामा कार्यरत रोजगार संयोजकको भूमिका बृहत् बनाउँदै अनलाइन श्रम स्वीकृत प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले हालसम्म १९ प्रतिशत पुँजीगत खर्च भएको जनाउँदै यसको दायरा वृद्धि गर्न समेत निर्देशन दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुस्कर मल्लले कार्यसम्पादन गर्दा आइपर्ने समस्याको उजागर गर्नुभन्दा समाधानको गाँठो फुकाउने गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरे । उनले मन्त्रालयको कार्ययोजनाले १६औँ पञ्चवर्षीय योजनाको उद्देश्यपूर्तिमा सघाउ पुर्‍याउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव डा. दीपक काफ्लेले विकास कार्यक्रमलाई पारदर्शी, प्रभावकारी, जनमुखी बनाउँदै समयमा सम्पन्न गर्नुपर्ने बताए । उनले युवाको क्षमता विकासका क्षेत्रमा काम गर्नुपर्ने बताउँदै यसका लागि युवाको व्यक्तिगत विवरण तयार पार्नुपर्ने जानकारी दिए । उनले निर्धारित बजेट कार्यान्वयनका लागि प्रत्येक कामको कार्ययोजना र तालिका बनाएर कार्यसम्पादन गर्न सम्बन्धित शाखालाई निर्देशन दिए ।

बैठकमा सहसचिव बाबुराम भण्डारीले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।