श्रममन्त्री यादवसँग नेपालका लागि कतारका राजदूत मिशालको भेटवार्ता

श्रममन्त्री यादवसँग नेपालका लागि कतारका राजदूत मिशालको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल–अन्सारीबिच बुधबार द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा तथा नेपाल–कतार श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

मन्त्री यादवले नेपाली श्रमिकको सीप विकास, सीप अनुसारको रोजगारी र पारदर्शी तथा श्रमिकमैत्री भर्ती प्रक्रियाका लागि सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

मन्त्री यादवले हालै नेपालले भोगेको विपद्को समयमा कतार सरकारले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरे । विपद्पछिको पुनर्निर्माण तथा पुन:स्थापनाका क्रममा रोजगारी सिर्जना, सीप विकास, तालिम तथा प्रभावित युवालाई श्रम बजारसँग जोड्ने कार्यक्रमहरूमा कतार सरकारको थप सहकार्यका लागि अनुरोध गरेका छन् ।

भेटवार्तामा विद्यमान द्विपक्षीय श्रम समझदारीलाई समयानुकूल व्यवस्थित गरी सीप विकास, तालिम र दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा आपसी सहकार्य र समन्वयलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको छ ।