रामललाको दर्शन गर्न अयोध्या जांदै परराष्ट्रमन्त्री, पांच प्रकारको आभूषण समर्पण गरिंदै


काठमाण्डु- भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदको आज अयोध्या जाने कार्यक्रम छ। रायसिना डायलगमा सहभागी भई परराष्ट्र मन्त्री शनिवार अयोध्या पुग्ने कार्यक्रम तय गरिएको हो।

दिल्लीबाट विशेष विमानले अयोध्या पुग्ने परराष्ट्र मन्त्रीको अयोध्या स्थित महर्षि बाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरप्रदेश सरकारका मन्त्रीहरू, अयोध्याका वरिष्ठ पुलिस र प्रशासनका अधितारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।

विमानस्थलबाट सोझै उनी भगवान श्रीराम जन्मभूमि मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ। साउद अयोध्यामा मन्दिर दर्शन गर्ने सरकारका पहिलो प्रतिनिधि हुनेछन्।

त्यस्तै मन्दिर प्रांगणमा श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चंपत राय सहित अन्य पदाधिकारीहरूले स्वागत गर्ने छन्। रामललाको दर्शनको क्रममा त्यहांका मुख्य पुजारीले विशेष पूजा गराउने जानकारी दिइएको छ।

साथै परराष्ट्रमन्त्री साउदले मन्दिरमा दर्शन पछि नेपाली जनताको तर्फबाट उनले पांच प्रकारको विशेष गहना रामललाको प्रतिमाको लागि अर्पण गर्ने छन्। चांदीले बनाइएको यस आभूषणहरूमा तीर धनुष, गदा र श्रृंगारका सामानहरू छ।

त्यस्तै परराष्ट्रमन्त्रीले सरयू घाटमा सांझ हुने संध्या आरतीमा सहभागी हुने कार्यक्रम पनि छ। यो संगै उनले अयोध्यामै रहेको हनुमानगढीमा पनि विशेष पूजा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement