काठमाण्डुमा बस्ने राणाको धन्दाः किर्ते नागरिकता बनाए, ५० करोडको जग्गामा ५० लाख बैना लिए !


काठमाण्डु – जग्गा किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा किर्ते गरी ठगी गरेको कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ३३ वर्षीय केवल प्रताप जंग बहादुर राणालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाण्डु महानगरपालिका–७ रातोपुल, साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो ।

राणाले मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई पर्सा बीरगञ्ज महानगरपालिका–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३ र १८६ को ५ कठ्ठा, १५ धुर, ९ कन्वा क्षेत्रफलमा बनेको घर समेतको जग्गा मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी जग्गा किर्ते कागजात बनाई २०७६ फागुन १९ गते आफ्नो नाममा राजीनामा पास गराएका थिए ।

त्यसपछि उनले सोही जग्गा पर्सा बीरगञ्ज महानगरपालिका–४ का एक व्यक्तिलाई बिक्री गर्न भनी ५० लाख रुपैयाँ बैना लिएको अनुसन्धनाको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । उक्त जग्गाको मूल्य ५० करोड रहेको सिआईबीले जनाएको छ ।

पक्राउ परेका राणालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पर्सा पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement