उपसभामुख राना र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता

उपसभामुख राना र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता


काठमाण्डु – उपसभामुख इन्दिरा राना र चीनका उपविदेशमन्त्रीबीच तिब्बतमा भेटवार्ता भएको छ । चीनका उपविदेशमन्त्री र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पगेकी उपसभामुख रानाबीच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन् । ‘नेपाल चीनको घनिष्ट मित्र, विकास साझेदार र असल छिमेकी हो। यसरी हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं,’ रानाले भनिन्, ‘नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ । नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौं ।’

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधै कदर गर्ने पनि उपसभामुख रानाले बताइन् ।

भेटमा उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न गम्भीरताका साथ काम गरिरहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्ने प्रक्रिया संसदबाट छिट्टै पूरा हुनेमा आशावादी रहेको बताइन् । नेपालको ध्यान ध्यान समृद्धिको लागि दिगो, समावेशी र उच्च आर्थिक वृद्धि ल्याउनेतर्फ केन्द्रित रहेको भनाइ थियो ।

अर्को प्रसंगमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् ।

उनले हिमालय क्षेत्रका देशहरुका बिचमा कनेक्टिभिटी बढाउन, प्रकृतिमैत्री दिगो विकासलाई प्रर्बद्धन गर्न र आपसी सहयोग विकास गर्न महत्वपूर्ण संस्थागत प्लेटफर्म बन्ने बिश्वास पनि ब्यक्त गरिन् ।