नेकपाभित्र विवाद चर्किरहेका बेला अमेरिकी राजदूतको सक्रियता बढ्यो, राष्ट्रपति र माधव नेपालसँग भेटवार्ता

नेकपाभित्र विवाद चर्किरहेका बेला अमेरिकी राजदूतको सक्रियता बढ्यो, राष्ट्रपति र माधव नेपालसँग भेटवार्ता


काठमाण्डु – नेपालमा पछिल्लो समय विकसित भइरहेको राजनीतिक घटनाक्रमसँग अमेरिकी राजदूत र्‍याण्डी बेरी राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै अमेरिकी राजदूतको राजनीतिक भेटवार्ता बाक्लिएको हो । राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार साँझ भेटवार्ता गरेका छन् । उनले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेको जानकारी दिए ।

राजदूत बेरीले भनेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनले संसारभर लोकतन्त्रहरूको पुनः संरक्षण र सुदृढीकरण गर्न कसरी काम गर्दछ भन्ने सन्देश, महिला र युवतीहरूको अधिकारको उत्थानमा केन्द्रित हुनेछ ।’

त्यस्तै उनले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान कोटेश्वर पुगेर राजदूत बेरीले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा नेकपाको विवाद, नयाँ अमेरिकी राष्ट्रपतिको आगमन र संसद विघटनका विषयमा महत्वपूर्ण छलफल भएको स्रोतले जानकारी दियो । प्रचण्ड–नेपाल समूह सरकारविरुद्ध आन्दोलन गरिरहेको अवस्थामा राजदूत बेरीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

यसअघि राजदूत बेरीले नेकपा प्रचण्ड–मावध नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।