रातारात हिट भएकी राणू मण्डलको जीवनीमा फिल्म बन्ने


एजेन्सी । भारतको पश्चिम बंगालस्थित रानाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने राणू मण्डल ‘भिकारी’बाट रातारात बलिउड गायिका बनेसँगै उनी चर्चित हुन सफल भइन् ।

उनको चर्चा बलिउडमा कुनै चर्चित सेलिब्रेटिको भन्दा कम छैन् । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म उनको स्वरको चर्चा चलिरहेको छ । गायक तथा संगीतकार हिमेश रेशमियाले आफ्नो आगामी फिल्ममा राणूलाई गीत गाउने मौका दिँदै ‘तेरी मेरी कहानी’ गीत सार्वजनिक गरिसकेका छन् । रानुको पहिलो व्यवसायिक गीतले धेरै प्रशंसा पनि पाएको छ । यही कारणले होला उनको जीवनमा अब फिल्म निर्माताहरूले पनि चासो दिएका छन् ।

केही साताअघि मात्र गायिकाका रूपमा बलिउडमा ‘डेब्यू’ गरेकी राणूको जीवनीमा अब फिल्म बन्ने भएको छ । भारतीय सञ्चारमाध्यम ‘आइएनएस’का अनुसार फिल्म निर्माता ऋषिकेश मन्डलले राणूको जीवनमा आधारित फिल्म बनाउने भएका छन् । यो बायोपिकमा ऋषिकेशले राष्ट्रिय फिल्म अवार्ड विजेता बंगाली अभिनेत्री सुदीप्ता चक्रवर्तीले राणूको भूमिका निर्वाह गर्ने पनि उनले बताएका छन् ।

ऋषिकेशले एक अन्तर्वार्तामा भनेका छन्, ‘सुदीप्ता चक्रवर्तीलाई यो भूमिकाका लागि प्रस्ताव गरिएको छ । उनले टुंगो नै त दिइसकेकी छैनन्, तर मलाई लाग्छ राणू मन्डलको भूमिका सुदीप्ताले जत्तिको राम्रो कसैले निर्वाह गर्न सक्दैनन् । सुदीप्ता एक प्रतिभाशाली अभिनेत्री हुन् ।’

अभिनेत्री सुदीप्ताले पनि आफूलाई राणूको बायोपिकको प्रस्ताव आएको स्वीकारेकी छन् । राणूले रेलवे स्टेशनमा ‘एक प्यारका नग्मा है’ गाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी चर्चामा आएकी हुन् । उनले अहिलेसम्म पाँच–छ वटा गीत रेकर्ड गराइसकेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement