१९ वर्ष अघिको त्यो दर्दनाक काण्डः अमेरिका फरार भएका लिलाराज गौतम एयरपोर्टबाट पक्राउ


काठमाडौं – प्रहरीले बलात्कारपछि हत्या गरी फरार भएका एक जनालाई नेपाल झिकाएको छ । झापा चन्द्रगढी–३ का लिलाराज गौतमलाई प्रहरीले अमेरिकाबाट झिकाएर आज बिहान त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले १९ वर्षअघि हत्या गरी फरार रहेका गौतमलाई इन्टरपोलमार्फत पक्राउ गर्न पत्राचार गरेको बताए । पक्राउ परेका गौतममाथि कारबाही प्रक्रिया अगाडि बढ्नेछ ।

२०५७ असोज २९ गते राति गौतमले मनोज खड्का, सिताराम बस्नेतले झापा चन्द्रगढी–३ बस्ने सन्ध्या राजवंशीलाई जबरजस्ती करणी गरेपछि घाँटी थिची हत्या गरी नजिकै चारआली जंगलको छेउको रुखमा झुण्डाएका थिए । घटनाको अर्को दिन २०५७ असोज ३० गते राजवंशीका बुवा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा घटनाबारे जोहरी दिएका थिए ।

प्रहरीले गौतमलाई पक्राउ गरी झापा जिल्ला अदालतमा जबरजस्ती करणी तथा ज्यान कर्तव्यमा मुद्दा दायर गरेकोमा गौतमलाई झापा जिल्ला अदालतले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो ।

तर पुनरावेदन अदालत इलाम हुँदै सर्वोच्च अदालतमा पुगेको मुद्दामा २०६६ भदौ २९ गते सर्वोच्चले गौतम समेतलाई जन्मकैदको फैसला गरेको थियो । सर्वोच्चले गौतम हिरासतमा बसेको १० महिना कट्टा गरी बाँकी १९ वर्ष २ महिना कैद गर्न फैसलामा उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement