बलात्कार घटनामा पञ्चायती मिलापत्र


लहान – बलात्कारका घटनामा मिलापत्र गराउने आठजना ‘पञ्च’लाई प्रहरीले सिरहाको विष्णुपुर गाउँपालिकाबाट असोज १८ मा पक्राउ ग-यो। १० लाख रुपैयाँमा लिनेदिने गरी घटनामा मिलापत्र गराउने उनीहरुमाथि प्रहरीले मुद्दा चलायो।

समाजका बलिया यी पञ्च पक्राउ परेपछि पीडित पक्षमाथि उनीहरुलाई छुटाउन दबाब बढ्यो। यस घटनामा पीडित किशोरीकी आमाले जाहेरी दिएकी थिइन्। उनैले पछि पञ्चहरुलाई छुटाउन अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालिन्, जसलाई उच्च अदालत जनकपुरको राजविराज इजलासले सोमबार खारेज गरिदिएको छ।

‘यो घटनाले किशोरीकी आमालाई अनुचित प्रलोभनमा पार्न खोजेको देखाएको छ,’ एक प्रहरी अधिकारीले नागरिकसँग भने, ‘बलात्कारका मुद्दामा मिलापत्र गर्न समाजमा हुने अनुचित खेलको जीवित नमुना हो यो। बलात्कार घटनामा पीडित पक्ष जहिल्यै पनि कमजोर हुन्छन् र पीडक बलिया। त्यसैले पीडक पक्षले पीडितमाथि सजिलै दबाब वा प्रभाव पार्न सक्छन्।’

त्यस्तै १५ भदौमा खड्क नगरपालिका–११ का दुईजना किशोरीमाथि भएको बलात्कार प्रयास घटना पनि समाजमै गुपचुपमा मिलाउन खोजिएको खुलेको छ। बलात्कार प्रयासको घटनालाई सुरुमा झगडा भन्दै मिलाउन खोजियो अहिले दुर्घटना भनेर मोड्न खोजिएको छ।

बलात्कार प्रयासको घटना ढाकछोप गर्न खोजिएपछि स्थानीयले सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन्। ‘बलात्कार प्रयासको घटनालाई ढाकछोप गर्न पाइँदैन, दोषीलाई कारबाही गर, बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले स्थानीय गजेन्द्र चोकमा प्रदर्शन गरेका हुन्।

‘प्रदेशसँग आफ्नो प्रहरी प्रशासन नहुँदा बलात्कारीलाई कडा कारबाहीको बन्दोबस्त गर्न सकिरहेका छैनौं। संघीय सरकारले हाम्रो हात बाँधिदिएको छ।’ लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश २

बलात्कार प्रयासको घटनामा पीडक पक्षलाई जरिवाना भराएर पञ्चहरुले आफैं रकम लिएको र पीडितलाई प्रलोभन दिएर बयान फेर्न दबाब दिन थालेपछि प्रहरीलाई ध्यानाकर्षण गराउन प्रदर्शन गर्नुपरेको महिला अधिकारकर्मी सुनीता साहले बताइन्। उनले भनिन्, ‘दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म हामी चुप बस्दैनौं।’

दुई किशोरीलाई मोटरसाइकलमा आएका तीन युवकले बलात्कार प्रयास गरेको उजुरी पीडित परिवारले प्रहरीमा गरे पनि कारबाही अघि बढाइएको छैन। उजुरी दर्ता गर्न नै नदिएर मिलापत्र गराउन जनप्रतिनिधि र पञ्च सक्रिय भएको पीडित परिवारको गुनासो छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement