रसुवागढी नाकामा संयुक्त सुरक्षा कमाण्ड सञ्चालन सहमति

रसुवागढी नाकामा संयुक्त सुरक्षा कमाण्ड सञ्चालन सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – रसुवागढी नाकामा पहिलो पटक संयुक्त सुरक्षा कमाण्ड केन्द्र स्थापना गर्न नेपाल–चीन दुवै देशका सुरक्षा अधिकारीले सहमति जनाएका छन् । रसुवागढी नाका व्यवस्थापन सम्बन्धमा नेपाल र चीनका सुरक्षा अधिकारीबीच रसुवाको स्याफ्रुबेंसी बुधबार भएको बैठकमा सहमति जुटेको हो । सहभागीहरुले संयुक्त सुरक्षा केन्द्रले दुवै देशको सुरक्षामा प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।

बैठकले रसुवागढी नाकामा संयुक्त कमाण्ड सेन्टर स्थापना, महिला ओसारपसार, सुन तस्कारी नियन्त्रण तथा केरुङ प्रवेशका लागि सर्वसाधारणलाई वन डे पासु र रसुवा बाहिरका ट्रक, कन्टेनर चालकलाई १५ दिने प्रवेश पासको विषयमा छलफल गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

चीनको केरुङ सीमा सुरक्षा प्रशासन प्रमुख गाहाओ हुआईको नेतृत्वमा चार जना चिनीया सुरक्षा टोलीसँग प्रजिअ भण्डारीसहित सात जना नेपाली टोलीले बैठक गरेको हो । बैठकमा रसुवागढी नाकामा संयुक्त कमाण्ड सेन्टर स्थापना भएपछि नाकाबाट मानव बेचबिखन, लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सुन लगायतका सामाग्रीको ओसार पसार नियन्त्रण हुने भएका कारण यसलाई स्थापना गर्न दुवै देशका अधिकारीबीच सहमती भएको हो ।

सहमतिसहितको बैठकका निर्णयहरु, दुवै देशका प्रतिनिधिले एक महिनाभित्र आ-आफना निकायबाट स्वीकृत गराई कार्यान्वयन गरिने जनाइएको छ । यसले नाकामा विविध समस्या तत्काल समाधान गर्न दुवै देशका अधिकारीलाई सहज हुने अपेक्षा गरिएको छ ।

बैठकमा रसुवागढी नाकामा प्रभावकारी र नमुनायोग्य सुरक्षा कार्य गर्ने सहमती भएको प्रजिअ भण्डारीले जानकारी दिए। ‘ढिलोमा मेरो कार्यकालमा संयुक्त कमाण्ड सेन्टर स्थापना गरिसक्ने छुु, प्रजिअ भण्डारीले भने ।

काठमाडौंदेखि नजिक भएका कारण पछिल्लो समय तस्करले रसुवागढी नाकाको प्रगोग गर्न थालेपछि नियन्त्रण गर्न संयुक्त बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेको प्रजिअ भण्डारीले बताए । ‘सुन लगायत सामग्रीको चोरी तस्करी नियन्त्रण गर्न चिनियाँ पक्षले सहयोग गर्ने प्रतिबद्वता जनाएको छ’, उनले भने । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।