राष्ट्रपति भण्डारीको भूमिकामा गगन थापाले गरे शंका


काठमाडौं- कांग्रेस सभासद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । आज भएको राष्ट्रपतिय निर्वाचनपछि उनले बहुमत भएको दलको प्रतिनिधित्व गर्दै राष्ट्रपति बनेकी भण्डारीको भूमिकामा शंका व्यक्त गरेका हुन् ।

वाम गठबन्धनको पुर्ण समर्थनमा दोस्रो कार्यकालको लागि पनि भण्डारी भारी मतले विजयी भइ सकेकी छन् । उनले अब राष्ट्रपतिको भूमिका संविधानले तोकेबमोजिम र सबैको साझा राष्ट्रपति हुनुपर्ने सुझाव दिएका छन् ।

उनले प्रश्न गरेका छन्, ‘बहुमत भएको दलको प्रतिनिधित्व गर्दै राष्ट्रपति बन्दै हुनुहुन्छ । उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहोला र भन्ने आशंका बोकेर राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने अवस्था छ । सबैको राष्ट्रपति बन्न सक्नुहुन्छ कि हुन्न ?’

नेकपा एमाले र माओवादी केन्द्रले दोस्रो कार्यकालको लागि भण्डारीलाई नै उम्मेदवार बनाएका थिए । राष्ट्रपतिको लागि कांग्रेसबाट पूर्वसांसद कुमारी लक्ष्मी राइ उम्मेदवार थिइन् ।

कांग्रेस नेता थापाले भने दलगत रुपमा सहमतिमा राष्ट्रपतिको मतदान हुँदा सार्वभौम मतदाताको अनुभव गर्न नपाएको गुनासो गरेका छन् ।

बहालवाला राष्ट्रपति भण्डारी मतदानस्थलमा पुगेपनि कोहीसँग भोट भने मागेकी थिइनन् । उनको जीत निश्चित जस्तै भएकाले विगतको झैं भोट माग्न परेन । गगन थापाले यही कुरामा सांसदले राष्ट्रपति चयन गर्दा सार्वभौम मतदाताको अनुभव गर्न नपाएको गुनासो गरेका हुन् ।

उनले राष्ट्रपतिको अभ्यास राजतन्त्रको जस्तो भएको महसुस गरेको आरोप लगाउँदै भने, ‘राष्ट्रपति भन्दा पनि राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको जस्तो लाग्यो । राष्ट्रपतिले कताकता राजाले छाडेको जुत्तामा खुट्टा हालेर ठाउँ भर्न चाहेको जस्तो पाएका छौं ।’

थापाले राष्ट्रपतिको सवारी हुँदा हुने जाम, सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदा गर्ने छनौट प्रवृतिले राजसंस्थाको झल्को दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement