राष्ट्रपति भण्डारीले दिइन् २९औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना


काठमाण्डु – राष्ट्रपति विद्यादेवि भण्डारीले २९औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना दिएकी छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी हुन् ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्वर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ ।

‘कोभिड–१९ पश्‍चात्‌को उत्कृष्ट पुनरागमनको सुनिश्‍चितताः अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न कार्यक्रम गर्रि नेपालमा पनि अपाङ्गता दिवस मनाईदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्‍चित गरेको छ । यसैबीच ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ निर्माण भएको छ भने नेपाल सरकारले यसको कार्यान्वयनका लागि ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७’ समेत जारी गरिसकेको छ ।

राष्ट्रपति भण्डारीले संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गरिनु पर्ने बताएकी छन् । यसका साथै उनीहरूलाई क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्ने बताएकी छन् ।

अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक धारणाहरूमा न्यूनीकरण गर्न र अपाङ्गता भएका व्यक्तिहरूप्रति समाज र सरोकारवालाहरूको व्यवहारमा परिवर्तन ल्याउन पनि यो दिवसको महत्व रहेको विज्ञप्तिमा उल्लेख छ । फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरुको सहज पहुँच स्थापित गर्न अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement