काठमाण्डु – राष्ट्रिय सभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ पारित भएको छ ।
सभाको सोमबारको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । प्रस्तावमाथिको छलफलमा सांसदहरू सुरेशकुमार आले मगर, रुक्मिणी कोइराला, तारामान स्वाँर, डा. बेदुराम भुसाल र विष्णुबहादुर विश्वकर्माले भाग लिएका छन् ।
प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले प्रस्तुत विधेयकले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न मार्गप्रशस्त गर्ने तथा जलमार्गमार्फत नेपालको पहुँच समुद्रसम्म पुग्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको अर्को बैठक जेठ ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने जनाइएको छ ।
प्रतिक्रिया