राष्ट्रिय मर्यादा सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा प्रस्तुत


काठमाण्डु – राष्ट्रिय सभाको आज मंगलबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी छन् ।

बैठकमा ३ आयोगका प्रतिवेदन समेत प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौं वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौं वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरेकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरेकोमा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले दाङ–घोराही–तुल्सीपुर सडकको मर्मतसम्भारका लागि सरकारको ध्यानाकर्षण गराइन् । अर्का सांसद प्रकाश पन्तले पृथ्वी राजमार्ग लगायत राष्ट्रिय राजमार्गको दुरावस्था रहेकाले तिनको मर्मत गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement