राष्ट्रिय महिला भलिबलः न्यू डायमन्ड र पश्चिमाञ्चल विजयी


काठमाडौँ- राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा न्यू डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघ विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो खेलमा न्यू डायमन्ड एकेडेमीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो । न्यू डायमन्डले आर्मीलाई २५–१९, १९–२५, २५–१८, २२–२५ र १५–१० ले अंकले हराएको हो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको अर्को खेलमा पश्चिमाञ्चलले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सोझो सेटमा हरायो । एकपक्षीय खेलमा पश्चिमाञ्चलले २५–१३, २५–२० र २५–२० अंकको जित निकाल्यो ।

पश्चिमाञ्चलले समूह ‘ए’ र न्यू डायमन्डले समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका छन् । यसअघि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजेताका हैसियतमा सेमिफाइनलमा स्थान बनाएका थिए ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्ड एकेडेमी तथा समूह ‘बी’को विजेता नेपाल पुलिस क्लब र समूह ‘ए’ को उपविजेता पश्चिमाञ्चल भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

यही वैशाख २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता छ । लिगकम नटआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु एक लाख पाउनेछन् भने तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार पाउनेछन् । सेमिफाइनल खेल सोमबार हुनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस
Advertisement