रसुवागढी र सान्जेनको आइपिओ निष्काशन:सभामुख र उर्जामन्त्रीले दिए डेढ लाखको आवेदन


काठमाडौं – सभामुख कृष्णबहादुर महरा र उर्जामन्त्री वर्षमान पुनले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको सेयर भरेका छन् ।

सभामुख महरा र उर्जामन्त्री पुनले रसुवागढीमा १ लाख रुपैयांको (१ हजार कित्ता) र सान्जेनमा ५० हजार रुपैयांको (५ सय कित्ता) आवेदन दिएका छन् । शुक्रबारदेखि रसुवागढी र सान्जेनको साधारण सेयर (आइपीओ) खुला भएको हो ।

साथै, महराकी पत्नी सीता महराले पनि रसुवागढीमा १ लाख रुपैयाँ (१ हजार कित्ता) र सान्जेनमा ५० हजार रुपैयाँको (५ सय कित्ता) नै आवेदन दिएकी छन् ।

त्यसैगरी पूर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ लाख रुपैयांको (१ हजार कित्ता) र सान्जेनमा ५० हजार रुपैयांको (५ सय कित्ता) को सेयर भरेकी छन् । यसअघि जनताको जलविद्युत् अन्तर्गत आइपीओ जारी भएको त्रिशुली जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री पुन लगायतले आवेदन दिएका थिए ।

उर्जामन्त्री पुनले सुरु गरेको यो अभियानले सवै नेपालीलाई जलविद्युतको शेयरधनी बनाउने लक्ष्य राखिएको छ ।

यस्तो छ दुवै कम्पनीको अवस्था-

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आज बैशाख ६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओनिष्काशन गरेको हो । जस मध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन् ।

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधारहरु रहेको जनाउछ । रसुवामा १ सय ११ मेगावाटको आयोजना निर्माण गरिरहेको यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड १२ लाख १२ हजार रहेको छ भने कम्पनीले ७६ साल फागुन ७ गतेदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

सान्जेंन जलविद्युत कम्पनी लिमिटेड

सान्जेंन जलविद्युत कम्पनी लिमिटेडले पनि आज बैशाख ६ गतेदेखि नै सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको छ। कम्पनीले ५४ करोड ७५ लाख बराबरको ७४ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि र ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने एनएमबि क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन् ।

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधारहरु रहेको जनाउछ । रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ । यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement