उम्मेदवार बन्न रास्वपाले बनायो मापदण्ड, लिडरसिप एकेडेमीको प्रशिक्षण र क्यान्डिडेट क्लबमा आवेदन अनिवार्य

उम्मेदवार बन्न रास्वपाले बनायो मापदण्ड, लिडरसिप एकेडेमीको प्रशिक्षण र क्यान्डिडेट क्लबमा आवेदन अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको रुपरेखा बनाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी रास्वपाले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा बनाएको हो ।

यसमा उम्मेदवार छनोटको प्रक्रियादेखि मापदण्डसम्मका विषय उल्लेख छन् ।

पार्टीले सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो ।

आकांक्षीहरूको नेतृत्व परीक्षण र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको प्रशिक्षण र नतिजालाई अनिवार्य गरिएको छ । यसमा उत्तीर्ण हुनेले मात्र आगामी चरणमा प्रवेश पाउनेछन् । सबैभन्दा धेरै अंक पाउने व्यक्ति उम्मेदवार बन्ने छन् ।

विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक आबद्धता, जनसम्बन्ध र विजयको सम्भाव्यताका आधारमा वस्तुपरक मूल्याङ्कन गरिनेछ । यस्तै संविधानको भावना अनुसार महिला, दलित, सीमान्तकृत, युवा र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न १० प्रतिशत अङ्कभार छुट्ट्याइएको छ ।

उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्यांकनको महत्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सदस्यहरूको मताधिकार सुनिश्चित गर्न प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी भार दिइएको छ ।

उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम पार्टीको ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्नेछ । पालिका र वडा तहका लागि छुट्टाछुट्टै क्लब गठन गरिनेछन् । पार्टीले नयाँ र योग्य व्यक्तिलाई समेट्न विशेष प्रवेशको व्यवस्था समेत गरेको छ, जसमा प्रतिष्ठित र विज्ञ व्यक्तिलाई ‘कुलिङ पिरियड’को अवधि पूरा नभए पनि आवेदन दिने बाटो खुला गरिएको छ ।

मतदान प्रक्रियालाई सुरक्षित बनाउन रास्वपाले आधिकारिक एपमार्फत ‘अनलाइन मतदान’को प्राथमिक विधि अपनाउने भएको छ । तथ्याङ्कमा छेडछाड नहोस् भन्नका लागि ‘ब्लकचेन’ वा सोसरहको प्रविधि प्रयोग गरिने रूपरेखामा उल्लेख छ ।

मनोवैज्ञानिक प्रभाव कम गर्न ‘ब्लाइन्ड भोटिङ’ प्रणाली लागू गरिनेछ, जसमा मतदान नसकिएसम्म अन्य खण्डको प्राप्ताङ्क गोप्य राखिनेछ । पार्टीले उम्मेदवार छनोटमा हुने आर्थिक लेनदेन, गुटबन्दी र धाँधलीविरुद्ध ‘शून्य सहनशीलता’को नीति लिएको छ

आचारसंहिता उल्लङ्घन गर्ने जो-कोहीलाई तत्काल निष्कासन गर्ने र उम्मेदवारी खारेज गर्ने कडा व्यवस्था गरिएको छ ।