रास्वपामा विधान संशोधनको तयारी, केन्द्रीय समिति, पदाधिकारी र सचिवालयको संख्या बढ्ने

रास्वपामा विधान संशोधनको तयारी, केन्द्रीय समिति, पदाधिकारी र सचिवालयको संख्या बढ्ने

सबै तहमा ३३ प्रतिशत महिला र ३३ प्रतिशत युवाको प्रतिनिधित्व अनिवार्य गरिने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा विधा संशोधन गर्ने भएको छ ।

पार्टीले विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या बढाउने तयारी गरेको छ ।

रास्वपामा अहिले १२९ सदस्यीय केन्द्रीय समिति रहेको छ । पदाधिकारी ९ र सचिवालय १६ सदस्यीय छ । केन्द्रीय समिति १२९ बाट १३६ र १६ सदस्यीय सचिवालयलाई २५ पु¥याउने तयारी छ । ९ जना रहेको पदाधिकारीलाई बढाएर १६ जना राख्ने भनिएको छ ।

सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा गठन भएको विधान संशोधन कार्यदलले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढाउने प्रस्ताव तयार गरेको छ ।

कार्यदलले पदाधिकारीसहित केन्द्रीय समितिको संख्याबारे प्रस्ताव गरेको छ । प्रस्तावअनुसार पदाधिकारी १६ सदस्यीय रहने छ ।

प्रस्तावित मस्यौदा अनुमोदनका लागि केन्द्रीय समितिमा पनि पेस भएको छ । मस्यौदामा १६ जना पदाधिकारीमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहने प्रस्ताव छ ।

यस्तै केन्द्रीय समिति पदाधिकारी १३६ जना रहने प्रस्ताव कार्यदलले गरेको छ । सचिवालय २५ जना रहने प्रस्ताव गरिएको छ ।

कार्यदलका संयोजक आचार्यले पदाधिकारीमा अन्य संख्या यथावत राखेर सहमहामन्त्री ९ जना बनाउनुपर्ने प्रस्ताव गरिएको बताए । ‘सहमहामन्त्रीको संख्या बढाउँदा प्रदेश इन्चार्ज तोक्नु नपर्ने भन्ने पनि प्रस्ताव छ;, उनले भने ।

९ जना सहमहामन्त्री मध्ये ७ जनालाई ७ वटा प्रदेश इन्चार्जको भूमिका दिने, एक जनाले सभापतिलाई सहयोग गर्ने र अर्का एक सहमहामन्त्रीले संगठन हेर्नेगरी जिम्मेवारी दिनेबारे प्रस्ताव गरिएको छ ।

यस्तै सभापतिले नै प्रवक्ता नियुक्ति गर्ने र तीन जना उपसभातिमा एक जना महिला अनिवार्य गरिएको छ । संशोधन प्रस्तावअनुसार पार्टीका सबै तहका समितिमा कम्तीमा ३३ प्रतिशत महिला तथा ३३ प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था राखिएको छ ।

पुस १३ गते बालेन्द्र शाहसँग एकता सहमतिमा हस्ताक्षर गरेपछि उनलाई आमन्त्रित वरिष्ठ नेता राख्ने व्यवस्था गरिने छ । बालेन समूह, विवेकशील साझा, जेनजी समूह, थारुवान/थरुहट लगायत समूहसँग एकतापछि पार्टी ठुलो भएकाले केही आकार बढ्न सक्ने संयोजक आचार्यले बताए ।

‘विभिन्न समूहसँग एकतापछि पार्टी ठुलो भएकाले पदाधिकारी र केन्द्रीय समितिको आकार बढ्न सक्छ । कार्यदलको तर्फबाट केन्द्रीय समितिलाई मस्यौदा बुझाइसकेको छ । त्यहाँबाट आएको राय सुझावको आधारमा थप परिमार्जन हुन्छ’, आचार्यले भने ।

रास्वपाले प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।