काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यको अन्तिम सूची सार्वजनिक गरेको छ।
यसअघि महाधिवेशनमा भएको निर्वाचनमा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर रास्वपाले केन्द्रीय सदस्यको अन्तिम नामावली जारी गरेको हो।
कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको भन्दै बास्तोलाले दिएको निवेदन सदर गर्दै निर्वाचन आयोगले उनैलाई केन्द्रीय सदस्य बनाएको छ ।
गत असार १२ गते बसेको आयोगको बैठकले २ वटा निणर्य गर्दै नामावली सच्याएको हो ।
बैठकले केन्द्रीय समितिका सभापति पद र सदस्य पदका लागि भएको निर्वाचनमा परेका उम्मेदवारी र सम्पन्न निर्वाचन मत परिणामको आधारमा, र पार्टीको विधान २०८३ बमोजिम निर्वाचित उम्मेदवार घोषणा गर्ने निर्णय गरेके थियो ।
विज्ञप्तिमा भनिएको छ ‘निर्वाचित हुनेको परिणाम घोषणामा भएको प्राविधिक त्रुटी सच्याउने सम्बन्धमा छलफल गर्दा प्रारम्भिक रुपमा प्रकाशन भएको केन्द्रिय सदस्य पदको निर्वाचनमा निर्वाचित भएका सदस्यमध्ये पहिलो नतिजा प्रकाशन गर्दा, महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा, मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेश गरिएको कागजपत्र तथा प्रमाण अध्ययन गर्दा ध्रुव कुमार थापा मगर निर्वाचित भएको देखिएकाले निज ध्रुव कुमार थापा मगरलाई निर्वाचित भएको निर्णय गर्ने निर्णय गरियो ।’
‘त्यसैगरी प्रादेशीक (भुगोल तर्फ) भएको मतदानमा गण्डकी प्रदेशको मत परिणाममा पुजा बास्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्मा हुन गएकोले प्राप्त मत परिणामको आवश्यक अध्ययन गरी पुजा बास्तोलालाई गण्डकी प्रदेश, प्रादेशीक (भुगोल) तर्फ निर्वाचित घोषणा गर्ने निर्णय गरियो ।’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया