स्थापना दिवसमा रास्वपाले गर्‍यो सभापति लामिछानेको बचाउमा हस्ताक्षर संकलन

स्थापना दिवसमा रास्वपाले गर्‍यो सभापति लामिछानेको बचाउमा हस्ताक्षर संकलन


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको बचाउ र भ्रष्टाचारविरुद्ध खबरदारी गरेर स्थापना दिवस मनाएको छ ।

‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित पार्टीले देशव्यापी अभियान सञ्चालन गरेको छ ।

पार्टी स्थापना भएको तीन वर्ष पुगेको अवसरमा रास्वपाले शनिबार माइतीघरमा सभापति रवि लामिछानेलाई प्रतिशोध राखेर कानुनी झमेलामा फसाएको भन्दै हस्ताक्षर संकलन गरेको छ ।

यसअघि वृहत कार्यक्रम गरेर स्थापना दिवस मनाउने रास्वपाले यसपटक सभापति थुनामा भएकोले सडकमा हस्ताक्षर संकलन गरेर मनाएको हो ।

सो क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको सन्देश दिएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् ।

सभापति लामिछानेमाथि सरकारले साँधेको प्रतिसोधका विरुद्ध लाखौ हस्ताक्षर संकलन गरिने उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए ।

हस्ताक्षर संकलन अभियानका लागि रास्वपाले चन्दा संकलन पनि सुरु गरेको छ ।

यस्तै रास्वपाले तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सहयोगको घोषणा गरेका हुन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दृश्य खिच्न गएका एभिन्युज टीभीका क्याराम्यान रजकको जलेर मृत्यु भएको थियो ।