काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पनि संसद् अवरोध कायम राखेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका हुन्।
त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले यसअघि झै वेल घेरेर नाराबाजी गरिरहेका छन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छन्।
बैठकमा रास्वपा सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती भएको बताए
।
उनले भने, ‘युवाहरुको बिवशताको भुइमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ । यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रुपमा देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ । कहिले सुनलाई बिस्कुट भनेर भित्राउँछ । लाग्छ अब यो देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछ । यसको सूचीमा नयाँ काण्ड थपिएको छ । भिजिट भिसा काण्ड यो सामान्य ठगी होइन, यो हजारौं नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती हो । सरकारले यसमाथि छानबिन गर्नुपर्छ ।’
यस्तै उनले सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए ।
प्रतिक्रिया