रास्वपा महाधिवेशन : चितवनमा ५० करोडको व्यापार

रास्वपा महाधिवेशन : चितवनमा ५० करोडको व्यापार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।

झण्डै एक साता देशभरबाट प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले जिल्लाका होटल, रेष्टुरेण्ट र पर्यटकीय क्षेत्रहरु चलायमान भएका थिए । गत आइतबार उद्घाटन भएको महाधिवेशन आज समापन हुँदैछ ।

शनिबारदेखि नै प्रतिनिधि, परिवेक्षकहरुले त्यहाँका होटलहरु भरिन थालेका थिए । आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले १ सातामा ५० करोडभन्दा माथिको व्यापार भएको बताएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष समेत रहेका गौतमका अनुसार झण्डै २० करोड आबासमा प्रतिनिधि, परिवेक्षक र शुभेच्छुकले खर्च गरेको बताए । एकै दिन २० हजार जनासम्म चितवनमा बसेको उनको भनाइ छ ।

महाधिवेशनको उद्घाटन र त्यसको भोलिपल्ट ठूलो सङ्ख्यामा रास्वपा समर्थकहरु जिल्लामा आएको गौतमले बताए । अन्य दिनमा क्रमशः घट्दै गएको भन्दै उनले यसको प्रत्यक्ष लाभ भरतपुरलाई परेको बताए ।

सौराहालगायतका पूर्वी क्षेत्रका होटल र नवलपरासीको गैँडाकोटका होटलसम्म प्रतिनिधिहरु बसेको उनले बताए । आवासको व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने हुन्थ्यो भने ४ दिन खानाको व्यवस्था पार्टीले गरेको थियो । अघि पछि र अनुकूलको खाना प्रतिनिधिहरुले आफैँ खाएका थिए । पार्टीको मात्र ४ करोडभन्दा बढी खर्च हुने भन्दै उनले त्यहाँका सबै क्षेत्र एक साता चलायमान भएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार दुई हजार २०० हाराहारी साना ठूला गाडी बाहिरबाट आएका छन् ।

दुग्ध जन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूल जस्ता कृषि जन्य उत्पादनको राम्रो खपत भएको छ ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डे भरतपुरका होटलहरुले राम्रो व्यापार पाएको बताउछन् । त्यसपछिको व्यपार सौराहालगायतका क्षेत्रमा भएको उनको भनाइ छ । पहिलो पटक जिल्लामा आएका रास्वपाका नेता कार्यकर्ताले पर्यटकीय गन्तव्यहरु हेर्ने अवसर पाएको उनको भनाइ छ ।