काठमाण्डौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नै पार्टी रास्वपाका सांसद् अमेरशकुमार सिंहले आगामी आर्थिक वर्ष ०८३-०८४ को बजेटमाथि गरेको टिप्पणीलाई लिएर जवाफ फर्काएका छन् ।
बिहीबार प्रतिनिधिसभामा आर्थिक विधेयक–२०८३ र राष्ट्र ऋण उठाउने विधेयक–२०८३ माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले सिंह लक्षित अभिव्यक्ति दिएका हुन् ।
बजेटको आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा बढी भएको र श्रोत बिनाको बजेट कार्यान्वयन हुन नसक्ने भन्ने सांसदहरुको टिप्पणीप्रति वाग्लेले कठोर जवाफ दिए । उनले आफ्नो बजेटलाई ‘बेलुन’ को संज्ञा दिएकामा आपत्ति जनाए ।
‘सात खर्ब ऋण लिएर यत्रो बजेट ? बेलुनजस्तो बजेट भनेर टिप्पणी गरेको सुनेँ मैले’, वाग्लेले भने, ‘भ्रम त अर्कै छरिएको छ । कति ठूलो
बजेट ‘बेलुन’ जस्तो । कार्यान्यवन हुँदैन भनेको सुन्छु । त्यो गतल, आधारभूत अर्थशास्त्रको अपर्याप्त बुझाइ हो ।’
गत २८ जेठमा प्रतिनिधिभामा बजेटमाथिको छलफलमा बोल्दै सिंहले अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुनै नसक्ने बताएका थिए ।
सिंहले कुल गार्हस्थ उत्पादन (जिडिपी) को ३२-३३ प्रतिशत बजेट ल्याउने मुलुक दक्षिण एसियामै कुनै नरहेको भन्दै अर्थमन्त्रीको आलोचना गरेका थिए ।
‘यो आफैंमा एउटा फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ भन्नेमा मलाई विश्वास छैन’, सिंहले भनेका थिए, ‘अरू साथीहरूलाई विश्वास होला । झन्डै ७ खर्ब रुपैयाँ त बजेटको डेफिसिट (घाटा) छ ।’
सिंहको भनाइतर्फ लक्षित गर्दै वाग्लेले नेपालको कुल गार्हस्थ उत्पादन ६६ खर्ब रहेको भन्दै त्यसको तुलनामा बजेटको आकार ४४ देखि ४५ प्रतिशतमा सीमित गरिएको बताए ।
बजेटमा खर्चको श्रोतमा आन्तरिक र बाह्य गरी ७ खर्ब ऋण राख्नुलाई स्वभाविक भएको तर्क गर्दै वाग्लेले अर्थतन्त्रको आकारअनुसार त्यो गलत नभएको तर्क गरे ।




प्रतिक्रिया