ठटीटोल पुग्यो रातो मच्छिन्द्रनाथ, नरिवलको पर्खाइमा श्रद्धालु

ठटीटोल पुग्यो रातो मच्छिन्द्रनाथ, नरिवलको पर्खाइमा श्रद्धालु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहानको मधुरो घामसँगै पुल्चोकको चोकमा मानिसहरूको भीड विस्तारै बढ्दै जान्छ। बाजागाजाको ताल, धूपको सुवास र श्रद्धालुहरूको आस्थाले भरिएको वातावरण, यहीँबाट सुरु हुन्छ उपत्यकाको सबैभन्दा लामो र सांस्कृतिक रूपमा समृद्ध पर्व, रातो मच्छिन्द्रनाथ रथयात्रा र आज बुधबार साँझ सबैको नजर एउटै दिशामा केन्द्रित छ।

कारण, वर्षा र सहकालका देवता मानिने मच्छिन्द्रनाथको रथ ठटीटोल आइपुगेको छ, साँझ हुँदैछ बहुप्रतीक्षित ‘नरिवल खसाल्ने’ परम्परा।

एउटा नरिवलमा हजारौको आँखा
‘नरिवल खसाल्ने जात्रा’ केवल एउटा दृश्य होइन, यो विश्वास र भाग्यसँग जोडिएको क्षण हो। रथको माथिल्लो भाग गजुरी नजिकबाट खसालिने नरिवल समात्न श्रद्धालुहरूबीच उत्साहपूर्ण प्रतिस्पर्धा हुन्छ’ स्थानीय एलिना नकर्मी भन्छिन् । ‘स्थानीय मान्यताअनुसार, त्यो नरिवल समात्न सफल हुनेलाई शुभफल प्राप्त हुने विश्वास गरिन्छ। त्यसैले, भीडभाड र जोखिम हुँदाहुँदै पनि हरेक वर्ष यहाँ हजारौँ मानिस जम्मा हुन्छन्’ अझ उत्साहित हुदै‌ उनले भनिन् ।’

परम्परा र समुदायिक उत्सब

करिब १६०० वर्षदेखि निरन्तर चलिरहेको यो जात्रा केवल एउटा धार्मिक उत्सव मात्र होइन, यो समय, परम्परा र समुदायबीचको गहिरो सम्बन्धको जीवित प्रतीक हो। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्ने यो यात्राले पाटनका गल्ली–गल्लीलाई आस्था र उत्साहले भरिदिन्छ।

पाटनको पुल्चोकबाट सुरु हुने यस रथयात्रामा भगवान् मच्छिन्द्रनाथको मूर्तिलाई विशाल काठको रथमा विराजमान गराई शहरका विभिन्न भागमा घुमाइन्छ। रथ पुल्चोक, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्‍याइन्छ, जहाँ जात्राको सबैभन्दा महत्वपूर्ण क्षण ‘भोटो देखाउने’ कार्यक्रम आयोजना गरिन्छ।

भोटो देखाइसकेपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित बुङमतीस्थित मन्दिरमा लगिन्छ, जहाँ उनीलाई छ महिनासम्म विराजमान गराइन्छ। यससँगै वर्षकै सबैभन्दा लामो रथयात्रा सम्पन्न हुन्छ।

ठटीटोलमा देखिएको भीड केवल धार्मिक आस्थाको परिणाम मात्र होइन यो सामाजिक एकताको झलक पनि हो। विभिन्न उमेर, समुदाय र पृष्ठभूमिका मानिसहरू एउटै उद्देश्यले भेला हुन्छन्, परम्परालाई जोगाउन र अनुभव गर्न।यसबीच, स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले सुरक्षा र व्यवस्थापनमा सक्रियता बढाएका छन्, ताकि उत्सव सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न होस्।

बुधबार साँझ नरिवल खसाल्ने कार्यक्रम सम्पन्न भएपछि जात्राको अर्को चरण औपचारिक रूपमा अघि बढ्नेछ।