काठमाण्डु – ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथयात्रा बिहीबार मंगलबजारबाट सुन्धारासम्म रथ तानिँदैछ । रातो मछिन्द्रनाथ र मिननाथको रथ बुधबार गाबहालबाट मंगलबजारसम्म तानिएको थियो ।
वर्षा र सहकालका देवता मानिने मछिन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरूको भिड लाग्ने गरेको छ । पुलचोकमा शनिबार रथारोहण गरिएको रथलाई मंगलबार त्यहाँबाट तानेर गाबहाल पुर्याइएको थियो ।
बुधबार गाबहालका बासिन्दाहरूले जात्रा मनाएका थिए भने बिहीबार मंगलबजारका बासिन्दाले जात्रा मनाइरहेका छन् । यस जात्रामा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका स्थानीयले उत्सवका रूपमा जात्रा भोज बनाएर खुवाउने परम्परा छ ।
परम्पराअनुसार दिनभरि मंगलबजारमा जात्रा मनाइने र पूजा हुने गर्दछ । स्थानीयबासीहरूको जात्रा सम्पन्न भएपछि दिउँसो रथलाई मंगलबजारबाट सुन्धाराका लागि तानिने कार्यक्रम छ ।
पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रामध्ये एक हो । काठमाण्डु उपत्यकामा वर्षा गराउनको लागि मछिन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ ।




प्रतिक्रिया