रौतहट एसिड आक्रमण : घाइते सम्झना दासको मृत्यु


काठमाडौँ – आफ्नै घरमा सुतिरहेका बेला एसिड आक्रमणमा परेर घाइते रौतहट चन्द्रनिगाहपुर नगरपालिकाकी सम्झना दासको मृत्यु भएको छ।

१८ वर्षीया सम्झना र उनकी १५ वर्षीया बहिनी सुस्मितालाई गत भदौ २६ गतेराति (तिजको दरखाने दिन) एसिड प्रहार भएको थियो ।
गएराति ११ः४०मा किर्तिपुर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

चिकित्सकका अनुसार एसिडका कारण सम्झनाको कम्मरमाथिको अधिकांश भाग जलेको थियो। सम्झनाकी बहिनी सुस्मिताको भने किर्तिपुर अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ। सुस्मिताको दायाँ हातमा बढी असर गरेको बुवा जादवलालले बताए।

छोरीको मृत्यु भएपछि बुवा जादवलालले एसिड प्रहार गर्नेलाई फाँसी दिनुपर्ने बताए। भने, ’एसिड आक्रमण गर्नेलाइ जस्तो सजाय दिए पनि मेरी छोरी फर्किन्न, त्यसैले फाँसी नै दिए हुन्छ।’  आक्रमण गरेको आशंकामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ।

पासवानले संझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनका सम्न्धमा थप छानबिन भइरहेको पनि रौतहट प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement