रवि लामिछानेलाई कास्की प्रहरीसमक्ष बुझाइयो

रवि लामिछानेलाई कास्की प्रहरीसमक्ष बुझाइयो


काठमाण्डु-सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ भएका रास्वपा सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई सडकमार्ग शुक्रवार राति हुँदै पोखरा लगिएको हो ।

सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो । लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम अपचलन गरेको आरोप छ ।

लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो । सिआइबी र उपत्यका प्रहरी अनुसन्धान कार्यालयले कास्की प्रहरीको आग्रहमा लामिछानेलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधसहित चारवटा आरोपमा अनुसन्धान हुनेछ ।

लामिछानेलाई पोखरा लगिएपछि शुक्रवार राति नै सीआईबीको टोलीले कास्की प्रहरीको जिम्मा लगाएको छ । उनलाई शनिबार बिहान ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाइएको हो ।

सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

कास्की प्रहरीको हिरासतमा राखेपछि लामिछानेसँग रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रविपत्नी निकिता पौडेलले भेट गरेका थिए । त्यसअघि कार्यकर्ताले प्रहरी कार्यालयमा रविको पक्षमा नाराबाजी गरेका थिए ।

सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमासमेत ठाउँठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए ।