काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार पनि जिल्ला अदालत, रुपन्देहीमा उपस्थित हुँदैछन् ।
बिहीबार अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी छ । त्यसैले रवि उपस्थित हुन लागेका हुन् ।
लामिछाने गत बुधबार पहिलो पटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यसपछि उनी हाजिरी जमानीमा छुटेका थिए । अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थियो ।
बुटबलको सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै प्रहरीले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको छ ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो ।
यसअघि उनी कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । उनीविरुद्ध चितवन र पर्सामा पनि सहकारी ठगीविरुद्ध मुद्दा दर्ता छ ।
गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि पोखरा, काठमाडौं, बुटवल, चितवन र पर्सा लगिएको थियो ।
प्रतिक्रिया