काठमाण्डु-सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइने छ ।
आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने छ ।
पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शनिबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा लगिएको हो ।
लामिछानेलाई ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि शुक्रबार कास्की जिल्ला अदालतले अनुमति दिएको थियो । अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको छ ।
सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
२७ दिनदेखि जोशी हिरासतमै छन् । शुक्रबार रविलाई पक्राउ गर्नुअघि उनलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
लामिछानेलाई पोखरा पुर्याइए पछि रास्वपाका नेताहरू पनि पोखरा पुगेका छन् । उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेसहितका नेताहरू पोखरा पुगेका छन् ।
सडकमार्ग भएर पोखरा गएका लामिछानेको पक्षमा रास्वपाले धादिङ, चितवन, तनहुँ र पोखरामा पनि प्रदर्शन गरेका थिए ।
आज विरोध प्रदर्शन
सभापति पक्राउको विरोधमा रास्वपाले आज काठमाडौँ र पोखरामा प्रदर्शन गर्दैछ ।
लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले शनिबार काठमाडौँ र पोखरामा प्रदर्शन गर्न लागेको हो ।
शनिबार बिहान ११ बजे पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र दिउँसो १ बजे काठमाडौँको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यवद्धताका लागि रास्वपाले सबैमा अपिल गरेको छ ।
प्रतिक्रिया