‘रअ’ प्रमुखको सानेपा र नक्सालमा गोप्य भेटघाट !


काठमाण्डु – भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाण्डु आउनुमा सत्तारूढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको दाबी सुरक्षा अधिकारीहरूको छ ।

भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारूढ दल नेकपामा किचलो देखिएकाले सुरक्षा अधिकारीहरू गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् । ‘सीमा विवाद र सत्तारुढ दलमा देखिएको किचलोबाहेक नेपालमा रअको कुनै औपचारिक बिजनेस छैन,’ राष्ट्रिय अनुसन्धान विभागका पूर्वअधिकारीले भने ।

यसअघि रअका अधिकारीहरू नेपाल भ्रमणमा आउँदा राष्ट्रिय अनुसन्धान विभागका अधिकरीहरूसँग समन्वय हुन्थ्यो तर अहिले भने उनीहरूले भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयसँग कूटनीतिक अधिकारीहरू आउने भन्दै विशेष विमानका लागि अनुमति मागेका थिए ।

त्यसैअनुसार परराष्ट्रले कूटनीतिक व्यक्तिहरूका लागि भन्दै गरेको विशेष विमानको सिफारिसलाई हेर्ने हो भने नेपाल–भारत सम्बन्ध सुधारका लागि रअ प्रमुखको भ्रमण केन्द्रित भएको अनुमान पनि कतिपयको छ । रअका प्रमुखसहितका अधिकारीहरू परराष्ट्रको सिफारिसकै आधारमा विशेष विमान (आइएफसी ४६२०) बाट बुधबार दिउँसो पौने १ बजे काठमाडौं आएकाले सीमा विवादलगायत सम्बन्ध सुधार अजेण्डा हुन सक्ने आंकलन पनि छ ।

त्यसो त रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभए पनि सीमा विवादबारे विभिन्न दलका नेताहरूसँग उनले छलफल गर्ने कार्यक्रम भएको एक उच्च अधिकारीले जानकारी दिए । तर, कुन तहको राजनीतिक भेटघाट भन्नेबारे भने केही खुलेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरूले सरकारी अंगका प्रमुखहरूलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ । तर उनीहरूले सत्तारूढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ ।

‘नक्साल र सानेपास्थित होटलमा उनीहरूले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफैं सहभागी भएका छन् । केके विषयमा छलफल भयो भन्नेबारे केही खुलेको छैन ।’ याे खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement