रअ प्रमुखले भुटानबाट आएर प्रधानमन्त्री भेटेको पुष्टि


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।  रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । गोयलको टोलीमा रअका उच्च अधिकारीहरु अरुण जैन र शसिभुषण तोमर समेत थिए । उनिहरु यसअघि भुटानको भ्रमणमा समेत गएको स्रोतको दावी छ । नेपालबाट फर्किएलगत्तै उनिहरु अफगानस्तान जाने तयारीमा छन् ।

भ्रमणको उद्देश्यबारे अहिलेसम्म कुनै औपचारीक जानकारी नभएपनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसंग भेट भएको बताएका छन् ।

थापाले निकालेको वक्तव्यमा भनिएको छ ‘उहां (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । ’ रअ प्रमुख गोयलले प्र्रधानमन्त्री ओलीसहित नेकपाका अर्का अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता माधव कुमार नेपाल र प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासंग भेटवार्ता गरेको बताइएको छ ।

त्यसका साथै पुर्व प्रधानमन्त्री बावुराम भट्टराईको समेत उनीसंग भेटवार्ता भएको छ ।तर, पूर्व प्रधानमन्त्रीत्रय प्रचण्ड र नेपाल र देउवाले रअ प्रमुख गोयलसंग भेट नभएको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement