जनयुद्ध दिवसबारे सरकारको जवाफ : क्याबिनेट डिसिजन हो, कसैले भन्दैमा हट्दैन


काठमाण्डु – नेपाल सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनयुद्ध दिवस क्याबिनेट डिसिजन भएकाले कसैले भन्दैमा नहटाउने जवाफ दिएकी छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनयुद्ध दिवसको बिदा नहट्ने स्पष्ट पारिन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै खारेज नगरे कदम चाल्ने चेतावनी दिएका छन् ।

बुधबार प्रवक्ता शर्माले भनिन्, ‘यो क्याबिनेट डिसिजन हो । हिजो हामी नेकपा एमालेसँगै गठबन्धनमा थियौं । त्यतिबेलाको गठबन्धनको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर क्याबिनेटबाट पारित गरेको विषय हो । क्याबिनेटले पास गरेको विषय संसद्मा १ जना नेताले बोल्दैमा केही हुँदैन । क्याबिनेटले पारित गरिसकेपछि जनयुद्ध दिवस मनाएर जान्छ । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’

आजको व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको उनले दाबी गरिन् । ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौं । क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement