नेपाली समाजमा पुरुषको दबदबा तोड्न हिम्मत जुटाउनुस् : रेखा थापा


काठमाडौं – अभिनेत्री रेखा थापाले नेपाली समाजमा पुरुषको दबदबा तोड्नका लागि महिलाले ठूलै हिम्मत जुटाउन सक्नुपर्ने बताएकी छन् ।

११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आइतवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री थापाले महिलाहरु पुरुषका लागि ताली पड्काउने र दर्शकका रुपमा मात्रै सीमित रहेको भन्दै सो बताएकी हुन् ।

‘पुरुषको दबदबा भयो, महिला कोटामा मात्रै भन्ने महिलाले हिम्मत गरेर चुनावमा पुरुषलाई भोट नहाल्न म चुनौती दिन्छु’, उनले भनिन्, ‘संसदकादेखि सडककासम्म महिला ताली पड्काउन र दर्शकको रुपमा मात्रै काम गरेकाले सधैँ पछाडि परेका छन् ।’ उनले अहिले पनि महिलालाई केबल उपस्थितिका लागि मात्रै प्रयोग गरिने गरेको गुनासो गरिन् ।

’अपवाद बाहेक संसददेखि सडकसम्म हामी महिलालाई दर्शकको रुपमा उपस्थिति गराइन्छ । संसदको लोगो गलायो, लिपिस्टिक लगायो । संसदमा गयो, तालि बजायो, बस्यो । यसरी महिला मुक्ति हुन्छ ?’, उनले प्रश्न गरिन् । महिलाहरुले आफूलाई कम्जोर ठानेकैले हेपिनुपरेको बताउँदै उनले राज्यका सबै निकायमा महिलाको उपस्थिति ५० प्रतिशत हुनुपर्ने माग गरिन् ।

‘नेपालमा पुरुषभन्दा महिला बढी छौं । हामीले नै मतदान गरेर पुरुषलाई जिताउनु पर्छ । अनि हामीले नै कोटा रोज्नुपर्ने ? यो चलन कहिलेसम्म ? यो सब के का लागि ? यदि हामीलाई साँच्चिकै महिला मुक्ति चाहिएको हो भने आगामी चुनावमा मतदान बहिष्कार गरेर हेरौं । पुरुषलाई भोट नहालेर हेरौँ’, उनले भनिन्, ‘मातृसत्ताको आवश्कता हो भने प्रत्यक्ष निर्वाचित महिला राष्ट्रपति वा प्रधानमन्त्री जेसुकै भए पनि चुनाव लडेर संसदमा पुगौँ । किस्तीमा दिइने पद चाहिँदैन भन्न सकौँ ।’ २१औँ शताब्दीका नारीले चुनौती खडा गर्न सक्नुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement